• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

आँधी, बाढी र महामारी

दक्षिण र पश्चिमबाट आँधीबेहरी आयो, उत्तरी हिमालय श्रृङ्खलामा ठोक्कियो। तीन दिन, तीन रात मुसलधारे वर्षा भयो। अपूर्व बाढी उर्लियो। अधिकांश मानववस्ती डुबायो। बाढी मत्थर भयो। महामारी फैलियो। विश्वविद्यालय, प्रधानमन्त्री कार्यालय, संसदभवन, प्रज्ञाप्रतिष्ठान-भवन, राष्ट्रपति-भवन, प्रकाशनगृह, क्याम्पस, स्कूल, नाट्यघर, अदालततर्फ महामारी फैलिँदै गयो। पूर्व तथा वर्तमान प्रमं, मन्त्री, सांसद, प्रशासक, प्राध्यापक, न्यायाधीश, वकिल, नागरिक अभियन्ता, डाक्टर, इन्जिनियर, बेपारी, ठेकेदार,पत्रकार, तस्कर, लेखक, बुद्धिजीवी, प्रहरी, सेना र उच्च शिक्षाका बिद्यार्थीहरू महामारीबाट सङ्क्रमित भए। अस्पतालहरू महामारीका रोगीले खचाखच भरिए। अधिकांश सङ्क्रमितहरू उपचार गर्दागर्दै मरे। आकाशवाणी आयो— दिवंगत आत्माहरूलाई स्वर्ग वा नर्क कहाँ जाने रोज्ने अवसर दिइयो। मृतात्माहरूले स्वर्ग र नर्कमा आफूले भोग्नुपर्ने सजायँको स्थिति हेरेपछि निर्णय गर्न चाहे। तिनले त्यो अनुमति पाए। मृतात्माहरू स्वर्ग हेर्न गए। स्वर्गीय प्रमं, मन्त्री, नेता, सांसद, प्राध्यापक, न्यायाधीश, वकिल, लेखक, प्रशासक आदिलाई रगत, पीप, राल र सिंगानले भरिएको अग्निकुण्डमा चोपल्दै काँडेकोर्राले गोदिरहेको दृश्य देखे। मृतात्माहरू भयभित हुँदै स्वर्गबाट फर्केर नर्क हेर्न गए। नर्कलोकमा पूर्व नेताजीहरू, पूर्वमन्त्रीजीहरू, बुद्धिजीवी, प्राज्ञ, लेखक र सरकारी उच्चपदस्थ प्रशासक…आदिलाई घिच्रोमा काँडेसिक्रीले बाँधेर उँधोमुन्टो झुन्ड्याई रछान-घुरान र गन्दगीको पोखरीमा चोपल्दै कोर्रा बर्साउँदै थियो…त्यहाँ फँडा उठाइरहेका सर्प, बिछी, भ्यागुता, जुका, छेपारा, गंगटा र दिगमिगाउँदा गुहेकीराहरू सलबलाइरहेका थिए। स्वर्लोक र नर्कलोक दुबै अति नृशंस र पीडादायी देखेर मृतात्माहरू किंकर्तव्यबिमूढ भए…स्वर्ग जाने कि नर्क जाने निर्णय गर्न नसकी रनभुल्लमा परे। त्यही बेला आकाशवाणी सुनियो—”हे अगस्ति, लोभी-पापी, द्रोहीहरू! तिमीहरूका लागि स्वर्ग र नर्क दुबै उस्तै पीडादायी छन् किनभने तिमीहरू जुन आमाको कोखबाट जन्मियौ त्यही आमाको कोखोमा छुरी धस्ने वैगुनी हौ! अब तिमीहरूले तुरुन्तै निर्णय गर्नुपर्छ, नर्क जान्छौ कि स्वर्ग ?”

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image